सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साबिकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा प्रदेश नं.१ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको निवास भएको वडा हो । शनिबार परेको माघे झरीका बाबजुद पनि बृहत् भेलाको आयोजना गरी वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी सुनसरीका कार्यालय सचिव विनोद कटुवालले जानकारी दिएका छन् । उक्त वडामा कमिटी गठन भएसँगै इनरुवा नगरअन्तर्गत वडा कमिटी गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको नेकपा एकीकृत समाजवादी इनरुवा नगर कमिटीका अध्यक्ष सुवाष राईले बताए ‘नगरका सबैजसो वडामा हाम्रा कमिटीहरू गठन हुन पुगेका छन्’ शनिबार सम्पन्न वडा भेलाको अध्यक्षता गरेका राईले बताए । उनले ६ नम्बर वडा कमिटी गठनपछि पार्टीमा नयाँ ऊर्जा थपिएको बताए ।
भेलाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले इनरुवा नगरपालिकाको वडा नं. ६ कमिटी सानदार ढंगले गठन हुँदा त्यसले आन्दोलन र अभियान बिसर्जन गर्न खोज्ने अवसरवादीहरूलाई गतिलो झापड दिएको चर्चा गरे । उनले विगतमा विभिन्न आश र प्रलोभनमा मन्त्री, मुख्यमन्त्री हुने लोभमा पार्टी छाड्ने प्रवृत्ति देखिएको आरोप लगाए । कम्युनिष्ट पार्टीको मूल्य र मान्यताअनुरुप एमाले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुनै नसक्ने जिकिर गर्दै उनले नेकपा एकीकृत समाजवादी नै निकट दिनमा मूलधारको पार्टी हुने विश्वास व्यक्त गरे । अध्यक्ष निरौलाले पार्टी भित्र देखिएका अवसरवादी र आत्मसमर्पणवादी चरित्र चिनिन थाले सँगै जिल्लामा विभिन्न कमिटी गठन हुने कार्यले तीब्रता लिन थालेको बताए । शनिबार सम्पन्न भेलाले कमिटीको उपाध्यक्ष यशोदा फुयाँल, सचिव कुलबहादुर(अभि) निरौला, सहसचिवहरू यमबहादुर बस्नेत र पर्शुराम कटुवाललाई चयन गरेको छ ।