घर साहित्य/विविध थुइक्क छोरीको बाबु !

थुइक्क छोरीको बाबु !

888
0

 केही समय अगाडि मेरी स्वास्नीले दोस्री छोरी जन्माई । आजको सुविधासम्पन्न युगमा आएर पनि गर्भमै छँदा परीक्षण गरेर मैले मिल्काउने विचार गरिनँ । कानुनी रूपमा यस्तो कार्य अपराध हो, अवैध छ भन्ने डरले होइन । कसले पो कानुनको पालना गरेको थियो र ? मलाई लागेको थियो कि आजको युग विकसित युग पनि हो जसमा छोरा र छोरीका बीच भिन्नता छैन र भेदभाव गर्नु पनि हुँदैन ।

तर मेरो यो विचार गलत गराइदिई मेरी कान्छी छोरीले । किन ? मलाई एउटा कुराले च्वास्स घोच्यो । कसैलाई त्यो कुरा सानो लाग्न सक्छ : त्यो विषयले नछुन सक्छ तर मलाई असाध्यै असर पार्यो । छोरी जन्मेको उपलक्ष्यमा बधाई दिँदै एउटा सनकबहादुरले भन्यो– ‘छोरो भएको भए अलिक राम्रोसँग बधाई भन्ने थिएँ, छोरी पाउनु भएछ त्यसैले सुस्त बधाई दिन्छु ।’ छोरी र छोराको जन्ममा उसका बाबुले पाउने बधाईमा त यतिका भेद छ भने छोरा र छोरीकै बीचमा कति भेद हुँदो हो परिकल्पना गर्न गाह्रो लाग्यो मलाई ।

साँच्चै नारीहरूले ठुलो समस्या भोगेका होलान् भन्ने लाग्यो । के गर्नु छोरी भएर जन्मेको भए त्यो अनुभव आपैmले गर्ने थिएँ । ऊ अनपढ र रूढीवादी परम्परा स्वीकार्ने व्यक्ति भएको भए पनि चित्त बुझाउँथेँ । असाध्यै क्रान्तिकारी विचारधारा बोकेको, सचेत र शिक्षक जस्तो भविष्यका कर्णधार नागरिक तयार गर्ने जिम्मा पाएको पाको उमेरको व्यक्ति हो । अरुलाई शिक्षित बनाएर भ्रम हटाउनु पर्नेमा आपैm कुन दुनियाँमा रहेछ कुन्नि ! सक्कली अनुहार देख्न पाइयो । केही समयमै अर्को सनकबहादुर त्यही ठाउँमा आइपुग्यो । प्रसङ्गवश कुराहरू उनै दोहोरिए । ऊ पनि एउटै ड्याङको मुला रहेछ । ‘हिन्दु धर्ममा छोरा नभई स्वर्गको बाटो खुल्दैन भनिएको छ । जतिसुकै समानताका कुरा गरे पनि छोरा र छोरीमा त फरक हुन्छ काशी ।’ वाफ रे ! ऊ पनि वरिष्ठ शिक्षक हो । यी दुवै सनकजीहरूका भनाइले मलाई खासै असर परेन भनौं भने च्वास्स घोचेको अनुभव त्यही कुराले गरायो तर उनीहरूको हैसियत कति रहेछ थाहा भयो ।

    खुकुरीलाई के थाहा अचानोलाई कत्तिको दुखेको छ भन्ने ? म अचानो भएको छु ः अरु खुकुरी । वास्तवमा प्राचीनकालदेखि नै छोरा र छोरीमा भेदभाव गरिँदै आएको हो । छोराले पिण्ड नदिए स्वर्ग जानै सकिन्न भन्ने चिन्तन शास्त्रमा नभएको भए अहिलेसम्म त्यसको प्रभाव पर्ने थिएन । हामीले पुनर्जन्मको भ्रम पालिरहेका छौं । छोरो नजन्माइकन मन ढुक्क बनाउन नसक्ने हाम्रो समाजले किन मलाई राम्ररी बधाई दिन सकोस् । नर नारी एउटा रथका दुई पाङ्ग्रा भनेर वर्णन र व्याख्या गर्नु पनि निरर्थक लाग्छ मलाई । छोरीको बाबुले त राम्ररी बधाई पाउँदैन भने त्यो छोरीले कसरी समाजमा सम्मानित भएर बाँच्न सक्ली ?  म आपूm छोरीको बाबु बन्नु परेकोमा धिक्कार छ । मैले छोरीलाई हेला गर्न खोजेर हो र ? यो समाजले नै छोरीलाई माया गर्दाेरहेनछ । मलाई त छोरा र छोरीमा भिन्नता छैन भन्ने लाग्थ्यो तर यो समाजका बुज्रुकहरूले यो कुरा आत्मसात गर्न सकेका रहेनछन् ।  

    कर्तव्य विर्सेर अधिकार मात्र खोज्ने आजको समाजले आफ्नो चिन्तनमा आमूल परिवर्तन नगर्दासम्म छोरा र छोरीको भेद हट्दैन । त्यसो त भेद हटाएर समानता ल्याउन खोज्दैमा आउने पो कहाँ हो र ? म एक्लैले समानताका कुरा गरे पनि प्रकृतिले नै फरक बनाइदिएको छ । नारी हुँदैमा कमजोर र पुरुष हुँदैमा बलवान हुने भन्ने हाम्रो गर्भे धारणा कहिले बदलिन्छ र ? उदाहरण पनि खुब दिन्छौँ हामी । महिलाले राष्ट्रपति भएर देश चलाएका छन्, प्रधानमन्त्री बनेका छन्, डाक्टर इन्जिनियर त कति हो कति ! भाषण सजिलै छाँट्छौँ हामी । मञ्चमा नारी स्वतन्त्रताको वक्तव्य कुर्लीकुर्ली छाँटेर आफ्नो घरमा गई श्रीमती कुट्ने नेताजीहरू थुप्रै छन् । जिउँदै छँदा जगल्ट्याउने र मरेपछि शोक काव्य लेख्ने कविहरू पनि छन् । नारी दिवसको बृहत् कार्यक्रम उद्घाटनमा खरो मन्तव्य दिएका मन्त्रीज्यूले आफ्ना पीएलाई होटलमा सोह्र वर्षे किशोरीको व्यवस्था मिलाउन पठाउँछन् भने समानताको सपना चकनाचुर हुन्छ । यी सबै कुरा आधा आकाश उचाल्ने महिलाहरूलाई थाहा हुनुपर्छ र यो अवस्था चिर्न उनीहरू कम्मर कसेर लाग्नु पर्छ  अन्यथा महिला अधिकार गफमात्र हो ।

    आधा आकाश उचाल्ने महिलाहरू किन अहिले यति निरीह छन् त ? के पुरुषको दमनमा परेर यस्तो भएको हो ? पक्कै होइन । म दोस्री छोरीको बाबु भइसकेपछि यो समाजले छोरो भइदिएको भए उम्किहाल्थ्यो भन्ने प्रतिक्रिया दिन्छ । यस्तो प्रतिक्रिया दिनेमा महिलाहरूकै बहुलता छ । उसकी आमा नै छोराको चाहना राख्छे । अनि छोरा र छोरीको भेद समाप्त हुन्छ ? कदापि हुँदैन । म त दोस्री छोरीको बाबु मात्र भएको छु । कतै तपाईं तेस्री चौथी छोरीको बाबु पो भइसक्नु भएको छ कि ? त्यसो हो भने तपाईंलाई झन् कस्तो भए होला । अब अर्की छोरी पुनः जन्मी भने तपाईंले बधाइ पाउनुहुन्न । म ठोकुवा गरेर भन्छु । हाम्रो समाजका आम मानिसहरूले लगातार दुईवटा छोरी जन्मिए भने त कुरा काटिहाल्छ भने थपिए भने के बाँकी राखोस् ?
  

 हाम्रो गाउँकी एउटी सनककुमारीले आफ्नी बुहारीलाई सत्तोसराप गर्छे । अब महिलाहिंसा गर्ने पुरुष हुन्  भनेर कसले पत्याउँछ ? उसकी बुहारीले पनि आफ्नो बुहार्तन सम्झेर आफू सासू बनेपछि बुहारीलाई उत्तिकै हेलाहोचो गर्छे । उसको छोरो आफ्नै र बुहारी अर्काकी हुन्छे । बोक्सीको आरोपमा महिलाले नै महिलालाई आची खुवाएका उदाहरणहरू प्रशस्त छन् । शिक्षाको कमी भन्ने हो भने त्यस्तो अन्याय गर्नेमा शिक्षककै नाम अगाडि देखिन्छ ।

    म आफू पनि शिक्षक नै बन्न पाएको छु आजभोलि । बाटोमा हिँड्दै गर्दा अस्ति मात्र सनकबहादुरले सोधेको थियो— ‘सर ! थाई हुनु भो ?’ मान्छेको जीवन त स्थायी छैन, हामी के स्थायी हुनु ? मैले यही उत्तर दिएर बाटो लागेको थिएँ । कक्षा ६ मा नागरिक तथा नैतिक शिक्षा विषय पढाउँछु । आजै देखेँ एउटा पाठको अन्त्यमा शिक्षकलाई निर्देशन दिँदै लेखिएको रहेछ– ‘छोरा नहुँदा मरेपछि पिण्डपानी चल्दै र स्वर्गको बाटो खुल्दैन भन्ने अन्धविश्वासले कतिपय आमाबाबुले छोरको आशामा धेरै छोरी जन्माएका हुन सक्छन् ।

कुनै परिवारले छोरीप्रति भेदभाव गरेको पनि हुन सक्छ । आधुनिक समयमा छोरीले पनि छोराभन्दा राम्रो काम गर्न सक्ने भएकाले आमाबाबुले छोराछोरी दुवैमा समान व्यवहार गर्नुपर्ने कुरा विद्यार्थीहरूलाई बाध गराइदिनुहोस्’ मलाई झँेक चल्यो । भुत्रो हुन्छ छोरा र छोरीमा बराबरी ! उसो भए छोरी मान्छेको पनि रुद्रघन्टी हुनुपथ्र्यो, छोरा मान्छेको पनि पाठेघर हुनु पथ्र्यो, पुलिङ्ग र स्त्रीलिङ्ग एउटै हुनुपथ्र्यो । पुराना शास्त्र र धर्मग्रन्थलाई दोष दिएर हुन्छ र ? प्रकृतिको नियम परिवर्तन गर्न सक्नुपर्छ । सूर्य पश्चिमबाट उदाउने समय आउला र भेद हट्ला नत्र गाह्रै छ । प्रकृतिले विभेद गरे पनि मान्छेले नगर्नुपर्ने हो तर विवेकशील प्राणी भएर पनि उनीहरूका घैँटामा घाम लागेको छैन । सिद्धान्तहरू बनाइएका छन् तर कार्यान्वयन छैन । जनावरले पनि छोरा र छोरीमा भेद राख्छन् । हाम्रो घरमा पालिएको बाख्रोले पाठोलाई दूध दिन्छ तर पाठीलाई दिँदैन । के एक्काइसौं शताब्दीका मान्छेहरू पशु सरह भएका हुन् ? 

    ममा हीनताबोध भएको भए झन् के हुँदो हो ! छोरीको बाबु हुनु परेकोमा मलाई कुनै आपत्ति छैन । यो समाजले टाउको दुखाउनु पर्ने किन ? म अहिलेको सामाजिक संरचनाप्रति खिन्न छु । कहिले पलाउने होला सकारात्मक साँेच हाम्रो समाजमा ! मलाई एउटा चुट्किला याद अयो– घडी बाँधेको एउटा मान्छेसँग बाटोमा जम्का भेट भएर घडी नबाँधेको अर्को मान्छेले समय सोधेछ तर उसले पटक्कै समय बताइएनछ । अनि किन समय बताइदिनस् त भनेर उसको साथीले सोधेछ ।

उत्तरमा उसले भनेछ ‘अहिले समय सोध्यो, समय बताइदिएपछि नाम सोध्ला, त्यो पनि भन्नै पर्यो भनुँला । फेरि घर कहाँ हो भनेर सोध्ला । सम्पत्ति सोध्ला, छोराछोरी कति छन् भन्ला ।  छोराको बिहे भयो कि भएन भनेर सोध्ला । छोरीको पनि सोध्ला । अनि मेरो छोरालाई तिम्री छोरी दिनु पर्यो भन्ला । जाबो एउटा घडी पनि बाँध्न नसक्ने मागिखानेलाई मेरी छोरी दिन सक्छु ? त्यसैले समय नबताएको, बुझिस् ।’ छोरीको बाबु भइसकेपछि कत्रो पीर हुँदो रहेछ । आपूmभन्दा कम उमेरको भए पनि ज्वाइँको पाउ पर्नुपर्ने कारण छोरीलाई हेलाहोचो गर्ला, राम्ररी नपाल्ला भनेरै  त हो । बराबर हुने भए, अर्काको घरमा पठाउनु नपर्ने भए के यति टाढाको कुरा सोच्नु पथ्र्यो र  ? अवश्य पर्ने थिएन । 

    मैले पनि दूरदृष्टि राख्न थालेको छु आजकल । किनभने मेरा छोरा छैनन् । अनि छोरी मात्र भएको घरमा कोही पनि केटा नआउला । भविष्यमा हाम्रो मामाघर खै त भनेर आफ्ना छोराछोरीले भन्दा उत्तर दिने ठाउँ पनि त चाहियो । हुनेखानेले यसो भन्लान् । केही नभएको गरिबले घरज्वाइँ बस्नका लागि ब्हिे गर्न मान्ला । अनि मेरो अवस्था के होला ? यस्तै थुप्रै तर्कहरू मनमा बरालिन थालेका छन् आजको विकसित कम्युटर युगमा मेरो गिदीभित्र ! बिहे गर्नु अगावै नन्द आमाजू कति छन् भनेर मात्र छोरी दिने प्रचलन रहेको समाजमा धेरै नन्दहरू भए भने आफ्नी छोरीले दुःख पाउँछे भन्ने धारणा परिवर्तन नहुँदासम्म छोराछोरी बराबरी भन्ने नारा अलाप्नु बेकार छ । म आपूm छोरीको बाबु बन्नु परेकोमा कता कता यो समाजले गिज्याइरहेछ जस्तो अनुभव गरिरहेछु । मनमनै धिक्कारिहरेछु पनि– ‘थुइक्क छोरीको बाबु !’

(काशीराज मिश्रितको ‘बोकाको मन’ हास्यव्यङ्ग्य सङ्ग्रहको एक व्यङ्ग्य ।) 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here